घरजग्गा व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज उप्रेती निर्वाचित


रूपन्देही । घरजग्गा व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज उप्रेती निर्वाचित भएका छन ।
शनिबार भैरहवामा भएको संघको साधारणसभा तथा तेस्रो अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धिरज घिमिरे, कोषाध्यक्षमा नारायण प्रसाद बेल्वासे, सचिवमा पिताम्बर न्यौपाने चुनिएका छन् ।
यस्तैगरी, सदस्यहरूमा सुमन न्यौपाने, रितेश अग्रवाल, सागर सुवेदी, कृष्णप्रसाद अधिकारी, कृष्णप्रसाद यादव, आवाश बञ्जाडे, नारायण महत, अशोक भुसाल, अभिनव थापा, छत्र पन्थी, गंगाधर पाण्डे र रामापति यादव रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले व्यवसायलाई सम्मानजक पेशाको रूपमा स्थापित गराउन छरिएर रहेका अन्य व्यवसायीहरुलाई पनि गोलबन्द गर्दै जाने बताए । उनले रूपन्देही रियल स्टेट व्यवसाय उत्कृष्ट रहेको बताउँदै त्यसको लागि अझै लगानीको वातावरण बनाउँदै जाने बताए ।
यता, घरजग्गा व्यवसायी महासंघ केन्द्रीय समितिको भैरहवामा बसेको बैठकले मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेकाे छ ।
मुलुकभरका घरजग्गा व्यवसायीको थोरैथोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने उनीहरूको भनाइ छ ।
कोरोना महामारीपछि थलिएको व्यावसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाइएको छ । बैठकले व्यवसायीबाट एक–एक लाख रूपैयाँ संकलन गरेर कम्पनी स्थापनाको निर्णय गरेको छ ।