दलितको घर भत्काउने पालिका अध्यक्षलाई रिहाइ नगरे आन्दोलन गर्ने जसपाको चेतावनी


काठमाडौं । महायज्ञको नाममा दलितको घरमा डोजर चलाएर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले माग गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपाले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका व्यक्तिहरूलाई छलफलको लागि बोलाएर कुनै पूर्व जानकारी विना थुनामा राखेको आरोप लगाएको छ ।
जसपा नेपाल सिरहाका अध्यक्ष अशोक यादवले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेकाहरुलाई छुटाउन आन्दोलन गर्ने चेतावनी दिएको छ । गापा अध्यक्षलगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरुलाई अविलम्ब ससम्मान थुना मुक्त नगरिए आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने विषम परिस्थिति र क्षतिको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी जसपा नेपालले दिएको छ ।
उनले राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रुपमा छुवाछूतको मुद्दा लगाई प्रताडित गरी थुनामा राखेको र झूटा आरोप लगाई जाहेरी दर्ता गर्ने काम भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
गापा अध्यक्ष, पूर्ववडाध्यक्ष यादव र बजरंगी बाबाले औरही गापा– ५ स्थित महायज्ञ गर्ने नाममा डोम समुदायका दीपक मल्लिकको घर भत्काएको र अछूत बसेको भन्दै त्यहाँको माटोसमेत ताछेर फालेको आरोप लागेको छ ।
पीडित मल्लिकले आरोपी तीनै जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा शनिबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराइसकेका छन् । गापा अध्यक्ष र पूर्ववडाध्यक्ष प्रहरी नियन्त्रणमा छन् भने बाबा फरार छन् ।
