Ad Image

नयाँ वर्षदेखि तारकेश्वर नगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक सहारा र मृत्यु संस्कार भत्ता दिने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742801335.jpg

काठमाडौं । तारकेश्वर नगरपालिकाले नयाँ वर्षदेखि लागु हुनेगरी तारकेश्वरका स्थायी बासिन्दाहरुका लागि सुत्केरी, जेष्ठ नागरिक सहारा र मृत्यु संस्कार भत्ता नगरपालिकाले दिने घोषणा गरेको छ । तारकेश्वर नगरपालिकाको १६ औँ नगरसभाको अधिवेशनबाट भत्ता दिने घोषणा पारित गरेको हो ।


नगरपालिकाभित्र स्थायीरूपमा बसोवास गर्ने नागरिकहरुका लागि यही २०८२ साल बैशाख महिनाबाट लागू हुने गरी "कोखदेखि शोक" कार्यक्रम अन्तर्गत कोख, जेष्ठता सहायता र शोक कार्यक्रमको नीति सार्वजनिक गरेको छ ।


कोख कार्यक्रम अन्तर्गत बच्चा जन्माउनेहरूका लागि एकपटकमा ५ हजार नगद नगरपालिकाले उपलब्ध गराउने भएको छ । सो कार्यक्रम अन्तर्गत नगरपालिका भित्र स्थायी बसोवास भई जन्म भएका कुनैपनि बालबालिकाहरुको परिवारले उक्त रकम प्राप्त गर्नेछन् ।


त्यस्तै जेष्ठता नागरिक सहायता कार्यक्रम अन्तर्गत नगरपालिका भित्र स्थायी बसोबास गर्ने ८० वर्ष माथिका बृद्ध–बृद्धालाई सम्मान तथा सहारास्वरुप प्रति ब्यक्ति रु. २ हजार नगद नगरपालिकाले उपलब्ध गराउने भएको छ ।


शोक कार्यक्रम अन्तर्गत नगरपालिका भित्र स्थायी बसोवास गरेका कुनै पनि परिवारका सदस्यहरुको निधन हुन पुगेमा दाहसंस्कार वा काजक्रिया खर्च वापत प्रति ब्यक्ति रु. १० हजार उपलब्ध गराउने भएको छ ।


सुत्केरी भत्ता र मृत्यु हुने परिवारलाई दाह संस्कार वापतको खर्च अन्य पालिकाहरूले पनि यस भन्दा अघि दिए पनि जेष्ठ नागरिक सहायता खर्च अरुले दिएको देखिँदैन । नगरसभामा वडाका सबै सदस्यहरुलाई नगद र डायरीबाट सम्मान गरिएको थियो ।


त्यस्तै नगरपालिकाले अहिलेसम्म गरेका विकास निर्माणदेखि सम्पूर्ण गतिविधिहरुको तस्विरहरु भिडियोबाट देखाइएको थियो । भविष्यमा तारकेश्वर नगरपालिकालाई अन्य नगरपालिकाको तुलनामा पृथक ढगंबाट विकासको कार्यमा अगाडी बढाउने नगर प्रमुख कृष्णहरि महर्जनले बताएका छन् । तारकेश्वर नगरपालिकाले यो ६ महिनामा १३ करोड राजश्व सङ्कलन गर्न सफल भएको छ ।


स्थानीय सरकारले आधारभूत जनतालाई मध्यनजर गर्दै कोखदेखि शोकसम्मको कार्यक्रम ल्याएको मेयर महर्जनले बताए । त्यस्तै यसै वर्षबाट नगर अस्पताल निर्माणको कार्य सुरु भएकाले छिट्टै १५ देखि २० बेडको अस्पताल सञ्चालनमा आउनेछ ।


कार्यक्रममा उप–प्रमुख सृजना बुर्लाकोटीले जनप्रतिनिधिहरु मिलेर काम गर्न सके अझ धेरै नगरको विकासमा टेवा पुग्ने बताए । सबैले एउटै सोच बनाएर अघि बढ्न आवश्यक छ ।


कार्यक्रममा वडाअध्यक्षहरु बिदुर सापकोटा, परसुराम अर्यालले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नगर प्रवत्ता राधाकृष्ण खड्गीले गरेका थिए ।