काठमाडौं महानगरका विद्यालयको अत्यावश्यक रकम रोकियो, शिक्षकले तलब पाएनन् !


काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयमा निकासा हुनुपर्ने शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि रोकिएको छ ।
नेपाल शिक्षक महासंघ महानगर समितिले सोमबार रकम भुक्तानी रोकिँदा विद्यालय सञ्चालनमा समस्या परिरहेको भन्दै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीका समस्याबारे महानगरपालिकाको शिक्षा विभागलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा शिक्षकहरूले ५ महिनादेखि तलब नपाएको उल्लेख गरिएको छ । शिक्षकका जायज माग र मुद्दा चैत्र १८ सम्ममा सम्बोधन नभएमा शिक्षक महासंघ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

