कोइला बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु


चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौध किलोमा कोइला बोकेको ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते छन् ।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रेफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए । सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ । त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।