इटहरीको सेन्टर प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा


इटहरी । इटहरीको सेन्टर प्लाजामा बिहान ९ः ३० बजेदेखि सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको हो । के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको उनले बताए । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो । भवनभित्रबाट उद्धार गरिएकामा बंगलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।