अर्घाखाँची बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो


काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो ।
सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् । त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेका छन् ।
दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो । साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।