बालेनलाई कर्मचारीको चेतावनी– एक साताभित्र तलब नपाए कडा आन्दोलन गर्छाैं


काठमाडौं । स्थानीय तह कर्मचारी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई तत्काल कर्मचारीको तलबको व्यवस्था गरिदिन एक हप्ते अल्टिमेटम दिएको छ । संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्माले एक विज्ञप्ति निकाल्दै तलब अभावमा झण्डै ४ हजार पेशाकर्मीको दैनिकी समस्या पर्दा पनि महानगर नेतृत्व जिम्मेवार र गम्भीर नभएको टिप्पणी गरिएको छ ।
बालेनले मेयरको पदीय हैसियतमा बसेर प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुपर्नेमा समाजिक सञ्जालमार्फत् उच्छृखंल, अवाञ्छित र उत्तेजित शब्द प्रयोग गरेर समस्यालाई झन् ठूलो बनाइरहेको विज्ञप्तिमा भनिएको छ ।
दम्भ देखाउनुभन्दा समस्या समाधानका लागि गम्भीर बन्न आग्रह गरिएको छ । पारिश्रमिकविहीनताको कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसहित संघले उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार महानगरको नेतृत्व हुनुपर्ने उल्लेख गरेको छ ।
