ललितपुरमा खोलाको बगर व्यक्तिको नाममा ल्याएर बेचबिखन गर्ने ८ जना पक्राउ


काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा पर्ने कर्मनाशा खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर बेचबिखन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
कर्मनाशा खोलाले धार परिवर्तन गरेपछिको बगर उनीहरुले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर आफ्नो नाममा ल्याएर हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले आठ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताए ।
पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन रहेका छन् । उनीहरुलाई १० दिनअघि नै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कीर्तेको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी रेग्मीले बताए । कति जग्गा हिनामिना भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।