चक्रपथबाहिर रहेका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्छौं : मेयर महर्जन


ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथबाहिर रहेका महानगरका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्ने बताएका छन् । ललितपुर महानगरले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको वडा नं १४ देखि वडा नं २५ र २६ लाई जोड्ने नख्खु खोलामा निर्मित मोटरेबल पुलको आज उद्घाटन गर्दै प्रमुख महर्जनले महानगरमा चक्रपथभित्र रहेका वडामा सडक पूर्वाधारको विकासमा ठूलो रकम खर्चनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै चक्रपथबाहिरको पूर्वाधार निर्माणमा बढी लगानी गर्नुपर्ने अवस्था रहेको बताए ।
“राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ, २०७३ सालमा महानगरमा जोडिएका वडाहरुको पूर्वाधार निर्माणमा बढी ध्यान दिन्छौँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ,” प्रमुख महर्जनले भने ।
महानगरप्रमुख महर्जनले गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर सबै स्थानीय तहभन्दा अग्रस्थानमा रहेको बताए । “यसै वर्ष तीन पुल सम्पन्न भएका छन्, चक्रपथमा अपाङ्गतामैत्री पुल निर्माण सम्पन्न हुने चरणमा छ, ६ वटा पुल निर्माणको चरणमा छन्”, उनले भने । उनले चक्रपथमा रातिको समयमा हुने दुर्घटना रोक्न बत्ती राख्न ठेक्का भइसकेको जानकारी गराउँदै दशैँसम्ममा सम्पन्न हुने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा ललितपुरले उल्लेख्य प्रगति गरेको बताए । वडा नं १४ का अध्यक्ष अमृतजङ्ग महतले नख्खु खोलामा निर्माण भएका तीनवटै पुलले महानगरका एकअर्का वडामा रहेका व्यक्ति र समाजलाई जोडेको बताए । पूर्वाधार निर्माण महाशाखा प्रमुख इञ्जिनियर प्रदीप पौडेलले महानगरले आफ्नै आर्थिक तथा प्राविधिक लगानीमा यस वर्ष पुल निर्माण सम्पन्न गरेको जानकारी दिए ।