Ad Image

बिमस्टेक : भारतमा निम्तो नपाएका ओलीको हाेला त मोदीसँग साइड वार्ता ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743399650.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागिता जनाउन उनी थाइल्याण्ड जान लागेका हुन् । भ्रमणको पूर्वसन्ध्यामा उनले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका छन् । 

 

ओली चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली थाइल्याण्डका समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणमा जान लागेको हो । बिमस्टेकको सम्मेलनको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

 

उनीहरूबीच पछिल्ला राजनीतिक घटनाक्रम र दुई देशबीचका सम्बन्ध विस्तार लगायत विषयमा छलफल हुने बताइएको छ । भेटवार्ताको समय भने तय भइसकेको छैन् ।  दुई प्रधानमन्त्रीबीचको साइडलाइन भेटवार्ताका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।

 

ओलीले प्रधानमन्त्री भएदेखि नै भारत भ्रमणका लागि पटकपटक प्रयास गरेपनि सफल हुन सकेको छैन । नेपालमा राजनीतिक माहोल गर्माएको बेला प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच हुन लागेको भेटवार्तालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध राजावादीहरुले सुरु गरेको आन्दोलनबारे भारतमा चर्चा भइरहेको छ । 

 

राजावादीको आन्दोलन बढ्दै जानुमा भारतीय पक्षको हात रहेको एमाले लगायत गणतन्त्रवादी दलहरुको बुझाई छ । गत शुक्रबार भएको राजावादीको हिंसात्मक र विध्वंसात्मक आन्दोलनपछि हुन लागेको ओली–मोदी भेटवार्ताले उनीहरुको आन्दोलनमा कस्तो प्रभाव पार्ला सर्वत्र जिज्ञासा छ । 

 

यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका ओली र मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो । यस पटक पनि यसरी नै वार्ताका लागि कुरा भएको परराष्ट्र स्रोत बताउँछ ।  

 

पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीलाई नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेको हो । छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने र नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराएका थिए ।