डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण


डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् ।
अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भुकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी अभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।
नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकेको थिएन, गृहमन्त्री लेखकले भने, अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं ।
उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए ।
जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाइ खुलेपछि खटिनेछ, उनले भने, लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम भूमिका रहन्छ । मन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे ।