Ad Image

विपन्न परिवारलाई आवास निर्माण गर्दै भजनी नगरपालिका

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741759713.jpg

कैलाली । कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ। नगरपालिकाले वडा नं १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो। यसअनुसार वडा नं १ मा २५ वटा र वडा नं ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ।


बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन्। वडा नं ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छन्। ‘वर्षात्को समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ  डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ’, उनी भन्छन्, ‘उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन। सुरक्षित छु भन्ने आभास हुने छ।’


सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी छिन्। वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो। ‘विगतजस्तो समस्या अब आउने छैन। घरको खाद्यान्न बाढीले बगाउने छैन। घरका भाँडाकुँडा सुरक्षित रहनेछन्’, उनी भन्छिन्, ‘बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन्। परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ।’


विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ। आवास निर्माणका लागि प्रतिघर रु. तीन लाख नगरपालिकाले व्यहोर्ने छभने रु. दुई लाख ५० हजार सहयोगी संस्थाले व्यहोर्ने छ। त्यसमा करिब रु. एक लाख ६५ हजार लाभान्वित परिवारले बेहोर्नुपर्ने छ। वडा नं ८ मा निर्माण हुने २० वटाको लागतमा सहयोगी संस्थाले प्रतिघर रु. दुई लाख ६५ हजार लागत लाग्ने राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यक्रम संयोजक चक्रबहादुर आग्रीले जानकारी दिए।


सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन्। बाहिर बरण्डा रहने छभने शौचालय रहने छ। तर वडा नं १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए।


स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ।