Ad Image

क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला आयोजना

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742033051.jpg

चितवन । चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ ।


क्यान्सर रोगको उपचारमा एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी)का विषयमा सीप र ज्ञान प्रदान गरिनेछ । उक्त प्रविधिबाट मस्तिष्क, कलेजो, फोक्सोमा भएको क्यान्सरको बिना शल्यक्रिया रेडिएसनका माध्यमबाट गर्न सकिने जनाइएको छ ।
 

विभिन्न देशका विज्ञ सहभागी कार्यशालामा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टहरुले अनुभव र सीप आदानप्रदान गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए । उनका अनुसार अस्पतालमा रेडिएसनका लागि आवश्यक उपकरण भएर पनि यो किमिसमको प्रविधि प्रयोग गर्ने जनशक्ति उपयुक्त तालिम अभावमा प्रयोगमा ल्याउन कठिन भएको थियो । कार्यशालाले नयाँ प्रविधिबाट क्यान्सरको उपचार प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियो थेरापी विभागका विभागीय प्रमुख डा रञ्जनभक्त भण्डारीका अनुसार क्लिनिकल इम्प्लिमेन्टेसन अफ एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टबीच अनुभव साटासाट र विज्ञहरुबाट प्रशिक्षण दिइएको हो ।
 

कार्यशालाले नेपालको चिकित्सक स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उनले नेपाल विभिन्न क्यान्सर अस्पतालबाट सहभागीहरु आएको उल्लेख गरे । ह्याण्ड अन वर्कसप (कार्यशाला) नाम दिइएको तालिम साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजना गरेको हो ।


अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले भने, “यो कार्यशाला युरोपियन स्तरको हो, सोहीअनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उनको भनाइ छ । उनले थपे, “यो कार्यशालाले नेपालको क्यान्सर उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्नेछ ।”


कार्यशालामा नेपालसहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बङ्गलादेशलगायत देशबाट सहभागी र विज्ञहरु सहभागी भएका छन् । कार्यशालामा ४२ जना सहभागी र सात जना विदेशी विज्ञ हुन ।
 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालमा मेडिकल फिजिसिस्टको सङ्ख्या अत्यन्त कम भएको चर्चा गर्दै यो खालको तालिम महत्वपूर्ण भएको बताए । उनले नेपालको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसको शैक्षिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। 
    

त्यसअवसरमा साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) का संस्थापक जर्मन नागरिक प्राडा गोलम अबु जकरियाले कार्यशाला नेपालका लागि महत्वपूर्ण भएको भन्दै यहाँका चिकित्सक स्वास्थ्यकर्मीले नयाँ प्रविधिको ज्ञान पाएको बताए ।
 

संस्थाका निर्देशक बङ्गलादेशी नागरिक हसिन अनुपमा अजारीले कार्यशालाले सहभागीबीचमा ज्ञान र सीपको आदानप्रदान गरेको बताए। आफूहरुले आठौँ कार्यशाला नेपालमा गरेको भन्दै यसअघि विभिन्न देशमा यस्ता कार्यशाला गरिसकेको जानकारी दिए ।
 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल फिजिसिस्ट इञ्चार्ज सुरेन्द्रबहादुर चन्दले आफूहरुले एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी) सुरु गरेको भन्दै यो कार्यशालाले थप ज्ञान प्राप्त भएको बताउनुभयो । उनले भने, “युरोपलगायतका देशमा कसरी यसको प्रयोग भइरहेको छ भन्ने कुरा सिकेर सोहीअनुसार प्रयोगमा ल्याउँछौँ ।”
 

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा‍‍. विजयराज न्यौपानेले क्यान्सर उपचारको रेडिएसन (सेकाइमा) मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुने भन्दै उनले यो कार्यशालाले यहाँको उपचारलाई थप गुणस्तरीय र प्रभावकारी हुने बताए । कार्यशाला आइतबार समापन हुनेछ ।