स्थानीय प्रशासनले लगायो पुल्चोक र भैंसेपाटी क्षेत्रमा पनि निषेधाज्ञा


काठमाडौं । सरकारले ललितपुरका मुख्य क्षेत्रहरुमा पनि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आगामी २ महिनासम्म पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
यूएन हाउस र पुरानो मन्त्री क्वार्टरमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा पूर्वमा भैँसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तर भैसेपार्टी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको निषेधाज्ञा भोलि (चैत ४) बाट लागू हुने छ । निषेधाज्ञा लगाइएका ठाउँमा अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

