Ad Image

किन भएन स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा कार्यान्वयन ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743479251.jpg

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भएपनि संरचना नबन्दा समस्या भएको बताएका छन् । 

 

सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको गोदावारी नगरपालिकामा सञ्चालित ‘अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा’ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भौतिक संरचना बनेका अस्पतालमा स्वास्थ्य जनशक्ति नपुगेर जनताले आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेको बताए । आधारभूत स्वास्थ्य सेवालाई संविधानमा मौलिक हक बनाए पनि कार्यान्वयन हुन नसकेको सभापति थापाको भनाइ छ । 

 

“सरकारी स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने तर नदिने गर्दा नागरिक असन्तुष्ट भएका छन् । माथिल्लो वर्गसँग लिएर तल्लो वर्गलाई दिने समन्वयकारी भूमिकामा राज्यले काम गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन”, उनले भने । 
 

नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले जानकारी गराइन् । परियोजना पूर्ण रूपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न उनले आग्रह गरिन् । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उपप्रमुख रोकायाको भनाइ छ ।

 

यो परियोजना सम्पन्न भएपछि नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धि हुने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहेको बताउँदै सेवाका बारेमा सुसूचीत नभएको उनले सुनाए । “पालिकामा १०७ जना स्वास्थ्यकर्मी छन् । सबैलाई समेट्न सकिएको छैन । स्वास्थ्य स्वयंसेवकले छ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउनेलगायत विषय स्वास्थ्य क्षेत्रमा समस्याका रूपमा छन्”, उनले भने । 
 

कैलालीको गोदावरी नगरपालिकामा पाइलट प्रोजेक्टका रूपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरिरहेका छन् । विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शङ्कर धामीले जानकारी दिए ।