बेनी बजारमा चक्रपथ स्तरोन्नति कार्य सुरु


म्याग्दी । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो ।
चक्रपथ स्तरोन्नति कार्यको पहिलो चरणमा नाली निर्माणको काम थालिएको छ । योजनामार्फत ९०० मिटर सडकको कुनातर्फ टेवा पर्खाल, नाली, डिलमा रेलिङ निर्माण गरी पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिने आयोजना कार्यालयका इञ्जिनियर वीरवल सुनारले जानकारी दिए ।
नेपाल सरकारले अगाडि बढाएको १० वटा नमूना नगरपालिका कार्यक्रमअन्तर्गत नगरपालिकाले बेनी चक्रपथ स्तरोन्नति योजना प्रस्ताव गरेअनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगरप्रमुख सुरत केसीले बताए ।
उनले भने, “चक्रपथ स्तरोन्नति भएपछि ठूला सवारीसाधनलाई चक्रपथबाट आवतजावत गर्न सहज हु्नेछ । हाल चक्रपथबाट उडेको धुलो बजारमा आएर प्रदूषण हुने समस्या पनि स्तरोन्नति भएपछि समाधान हुनेछ ।” बेनी बजारभित्रको सडकमा सवारी चाप घटाउनका लागि चक्रपथबाट मालबाहक र बजारभित्र रोक्नु नपर्ने सवारीसाधनलाई सञ्चालनको व्यवस्था मिलाइएको छ ।
स्तरोन्नति कार्यका लागि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ ।
चक्रपथ स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूल रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यकरण गर्ने योजना रहेको बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । तीन वर्षे योजनाअन्तर्गत आर्थिक वर्ष २०८२÷८३ का लागि दरवाङ बसपार्क ढलान र २०८३÷८४ मा उक्त बसपार्कमा टर्मिनल भवन निर्माण गर्न सहरी विकास मन्त्रालयलाई प्रस्ताव गरिएको छ । प्रयाप्त मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयभित्रनै योजना सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए ।