कैलालीका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने


कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको हो।
जिल्लास्थित परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ।
चालु आर्थिक वर्षमा पाँच सय हेक्टर क्षेत्रफलमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले भने, 'यस कार्यक्रममा प्राकृतिक ताल, पोखरीलाई प्राथमिकता दिइएको छ, नयाँ पोखरी १० हेक्टर क्षेत्रफलमा मात्रै बनाउने योजना छ, ४ सय ९० हेक्टर क्षेत्रफल प्राकृतिक पोखरीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिनेछ।'
कार्यक्रमको प्राथमिकतामा प्राकृतिक पोखरी, ताल रहेकाले बढी प्राकृतिक ताल, पोखरी भएका पालिकालाई ‘माछा जोन’का लागि छनोट गरिएको उनले जानकारी दिए । 'कार्यक्रमको प्रक्रिया सुरु भइसकेको छु, उनले भने, 'माछा जोन कार्यक्रमका लागि करिब एकसय किसानले आवेदन दिएका छन् । 'कार्यक्रमअन्तर्गत माछापालनका लागि नयाँ पोखरी निर्माण, पुराना प्राकृतिक ताल, पोखरी मर्मतलगायत कार्य गरिने उनको भनाइ छ।
कार्यक्रममा किसानलाई माछापालनमा आवश्यक पर्ने कृषियन्त्र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उनले बताए । एकाइ प्रमुख जोशीका अनुसार चालु आर्थिक वर्षमा ‘माछा जोन’ कार्यक्रमका लागि एक करोड नौ लाख रूपैयाँ बजेट रहेको छ ।
कार्यक्रमको उद्देश्य माछाको उत्पादकत्व बढाउने रहेको जनाउँदै उनले माछापालक किसानलाई विभिन्न तालिमसमेत उपलब्ध गराइने बताए । परियोजनाअन्तर्गत जिल्लाका विभिन्न पालिकामा ‘गहुँ सुपरजोन’ आर्थिक वर्ष २०७३/७४, ‘तेलहन जोन’ आर्थिक वर्ष २०७४/७५ र ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा छन्।