तीनकुने प्रदर्शन : ५८ राउन्ड गोली चलाउँदा २० जनालाई लाग्यो


काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते राजावादी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनु परेको स्पष्टीकरण दिएको छ ।
चैत १५ गतेको घट्नाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको बताए । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका छन् । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयो । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको थियो ।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए । आचार्यका अनुसार, प्रहरीले चैत १५ गते दिउँसो २ः५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको जिकिर गरे । राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।