पालिका संघले भन्यो– गणतन्त्रको संरक्षण र सम्वर्द्धन गर्न डटेर लाग्छौँ


काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले चैत १५ गते राजावादी आन्दोलनको नाममा भएको हिंसात्मक तथा विध्वंसात्मक प्रदर्शनमा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै संघले लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा पालना गर्नुपर्ने न्यूनतम् मापदण्डको पुरै वेवास्ता गरी घटाइएको यस घटनामा संलग्न र आयोजकलाई कारवाही गर्न माग गरेको हो ।
लोकतान्त्रिक व्यवस्थाको विकल्प अझ समुन्नत लोकतन्त्र मात्र हुने भन्दै प्रतिगमन तथा निरंकुश शासन व्यवस्थाको कुनै कल्पना गर्न नसकिने बताएको छ ।
पछिल्ला घटनाक्रमबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार भएकाले स्थानीय सरकारका ३५ हजार जनप्रतिनिधिहरू यस प्रकारका अभियान र घटनाको विरोध गर्दै व्यवस्थाको संरक्षण र सम्वर्द्धनमा डटेर लाग्ने प्रतिवद्धता जनाएको छ ।
आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय, संचार गृह एवं नगरपालिकाका सवारी साधनमा पुर्याएको हानी नोक्सानी एवं लुटपाट र सर्वसाधारणमा भय त्रास सृजना गरेको भन्दै भर्त्सना गरेको छ ।