भानु नगरपालिकामा रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’: अनादीको खट्टे बजारमा ल्याइयो


तनहुँ । भानु नगरपालिका-१२, कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गर्दै ‘भानुको अनादीको खट्टे’ उत्पादन सुरु गरेको छ । फार्मले अनादीको चामललाई प्रवद्र्धन गर्दै यसको आम्दानीसँग जोड्ने उद्देश्यले यसलाई बजारमा ल्याएको हो ।
फार्मका सञ्चालक रामकृष्ण अधिकारीले भने, "जिल्ला र नगरपालिकाका क्षेत्रहरूमा उत्पादित अनादीको धानखेतीलाई प्रोत्साहन दिने उद्देश्यले हामीले यसको ब्राण्डिङ गर्दै ‘अनादीको खट्टे’ बजारमा प्रस्तुत गरेका हौं ।" यसका साथै, भानु नगरपालिकाको समन्वयमा अनादीको धानलाई खट्टे बनाएर बजारमा पठाइएको छ ।
अनादीको धानखेती हाल लोपोन्मुख अवस्थामा पुगेको भन्दै अधिकारीले थपे, "यसलाई पुनः प्रवद्र्धन गर्न र स्थानीय किसानहरूलाई अधिक उत्पादनको लागि प्रोत्साहित गर्न अनादीको खट्टे बनाइएको हो । अहिले स्थानीय किसानहरू अन्य प्रजातिका धान लगाउँछन्, जसका कारण अनादीको उत्पादन घट्दै गइरहेको छ ।"
भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले भने, "नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा सहयोग पुर्याएको हो। खाना, प्रविधि र गुणस्तरको परीक्षण नगरपालिकाले सम्पन्न गरेपछि, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजारमा पठाउन स्वीकृति दिइएको हो ।"
कृषि शाखाका अनुसार, नगरपालिकाका १३ वटा वडासहित जिल्लाका विभिन्न किसानहरूले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजारमा पठाइनेछ ।