सार्वजनिक रुपमा माफी मागेपछि प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा फिर्ता


बर्दिया । मदिरा सेवन गरेर कार्यालयमा झैझगडा गर्ने बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले मेयर र उपमेयरसँग माफी मागेका छन् । बिहीबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत आचार्यले प्रहरी प्रशासनका समक्ष मेयर, उपमेयरका साथै उपस्थित सबैका सामु गल्ती भएको भन्दै माफी मागेको बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए ।
मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित माफी मागेपछि उनीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा दायर भएको अभद्र व्यवहारसम्बन्धी उजुरी उपमेयर रत्नकुमारी पाण्डेले फिर्ता लिएकी छन् ।
बुधबार उपमेयर पाण्डेले आचार्यविरूद्ध जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन् । मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपद्रो व्यवहार गरेका आचार्यको ज्यादतीविरूद्ध बुधबारको कार्यपालिका बैठकले मुद्दा चलाउने निर्णय गरेको थियो ।