आणविक सम्झौता नगरे इरानविरुद्ध शक्तिशाली आक्रमण गर्ने अमेरिकाको तयारी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आफ्नो तयारी तीव्र पारेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले अलकायदा नेता ओसामा बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरानसँगको युद्धमा पठाउने तयारी गरेका छन् । अमेरिकी नौसेनाको युएसएस कार्ल भिन्सन नाम दिइएको उक्त जहाज अब इरानको नजिकै तैनाथ गर्ने भएको छ ।
यदि इरान अमेरिकासँग नयाँ आणविक सम्झौतामा पुग्न असफल भएमा अमेरिका र इजरायलले संयुक्त रूपमा शक्तिशाली आक्रमण गर्ने स्रोतलाई उद्धृत गर्दै द सनले उल्लेख गरेको छ । ओसामालाई समुन्द्रमा फ्याँक्न प्रयोग गरिरहेको युएसएस कार्ल भिन्सन अप्रिल ९ सम्म पर्शियन खाडीमा पुग्न सक्ने जनाइएको छ । अमेरिकन जहाज युएसस ह्यारी एस ट्रुम्यान पहिले नै त्यहाँ उपस्थित छ, जसले इरान समर्थक हुथीहरूलाई आक्रमणमा सहयोग गरिरहेको छ।
अमेरिकाले इरानलाई चेतावनी दिन राडारबाट पत्ता लगाउन नसकिने स्टिल्थ बमवर्षक पनि देखाएको छ। अमेरिकाले हिन्द महासागरको डिएगो गार्सियामा आफ्नो बी–२ स्टिल्थ बम्बरहरूको एक तिहाइ तैनाथ गरेको छ। २० मध्ये ६ वटा बि २ स्पिरिटहरू इरानतिर लक्षित गरेर राखिएको स्याटेलाइटबाट लिइएको तस्बिरहरूमा देख्न सकिन्छ ।
यी स्टिल्थ बमवर्षकहरू यति शक्तिशाली छन् कि तिनीहरूले इरानको आणविक साइटहरू भूमिगत क्षेत्र पनि नष्ट गर्न सक्छन् । यसबाहेक अमेरिकाको स्ट्राटो ट्याङ्कर विमान पनि तयार छ, जसले हावामा नै इन्धन भर्न सक्छ । यसले ४ हजार किलोमिटरसम्मको उडानमा बी–२ बम्बरलाई सपोर्ट गर्न सक्दछ।
यता इरानले अमेरिकाको धम्कीले कुनै फरक नपर्ने बताएको छ । अमेरिकाले कुनै गलत कदम चाले त्यसको जवाफ दिने इरानले चेतावनी दिएको छ । इरानका एक शीर्ष जनरलले अमेरिकाले सिसाको घरमा बसेको भन्दै ढुङ्गा हान्न नहुने बताएका छन् । तर, ट्रम्पले इरानलाई दुई महिनाको म्याद थपेका छन् । उसले या त नयाँ आणविक सम्झौता गर्ने वा आक्रमणका लागि तयार रहन भनेको छ ।
इजरायल माथिको हमासको आक्रमणपछि मध्यपूर्वमा अराजकता बढिरहेको बेला ट्रम्प बदला लिने मुडमा रहेको जनाइएको छ। उता, फ्रान्सेली विदेशमन्त्रीले नयाँ आणविक सम्झौता नभए युद्ध ‘लगभग निश्चित’ भएको स्पष्ट पारेका छन् । त्यसो त समाचार स्रोतहरूका अनुसार ह्वाइट हाउसले अप्रत्यक्ष रुपमा इरानसँग कुरा गरिरहेको छ भने अर्कोतर्फ ट्रम्पले आफ्नो सैन्य शक्ति देखाएर दबाब पनि उत्तिकै बढाइरहेका छन् ।