Ad Image

युवालाई दमाहा बजाउन सिकाउँदै भीमदत्त नगरपालिका

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743753139.jpg

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउने कला सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।

 

“सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भने, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ । नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौं ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उनले जानकारी दिए ।

 

कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाहा बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले  तालिम सञ्चालन गरेको बताए ।

 

“सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उनले भने, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।” तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।