Ad Image

बन्दीपुर गाउँपालिकाको थुम्का जोड्ने सडक स्तरोन्नति, हिलो र धुलोको समस्या अन्त्य

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743762477.jpg

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ पुग्ने सडक नालीसहित स्तरोन्नति गरिएको हो ।

 

सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य  भएको छ । बन्दीपुर–५ कोरीखाका लीलाबहादुर गुरुङले विंसं २०७३ सुरु गरिएको घरबास (होमस्टे) यही बाटोका कारण सञ्चालनमा समस्या हुने गरेकामा अब त्यो समस्या हटेको भन्दै खुसी व्यक्त गरे । अब नयाँ वर्षको सुरुआतीसँगै घरबास नियमित सञ्चालन गरिने उनले बताए । “पहिले यहाँ आउन राजमार्गबाट ४५ मिनेट लाग्ने गरेको थियो, हाल १० मिनेटमै पुग्ने अवस्था बनेको छ । जसले गर्दा अब पाहुना बढ्ने विश्वास लिएका छौँ”, गुरुङले भने ।

 

बन्दीपुर –५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध पु¥याउन राजमार्ग पुग्न सहज भएको बताए । पहिले पानी पर्दा सडक हिलाम्मे भएर यात्रा गर्न निकै समस्या हुने गरेकामा सडक स्तरोन्नतिसँगै त्यो समस्या समाधान भएको उनको भनाइ छ ।

 

चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजन गरेको एक करोड तीन लाख ३५ हजार बराबरको बजेटमा नयाँ सहर आयोजनाअन्तर्गत यो सडक स्तरोन्नति गरिएको हो । सडक सात मिटर फराकिलो गरी आरसिसी ढलान र नाली निर्माण गरिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । सबैभन्दा अप्ठेरो मानिएको सडक क्षेत्रको चार सय ५० मिटर ढलान गरिएको उनले बताए ।

 

कार्यालयका अनुसार उक्त खण्डमा गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र दुई सय मिटर ढलान, तीन किमी सडक ग्राभेल भइसकेको छ । चालु आवको कामअन्तर्गत राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले आगामी जेठ २० गतेभित्र सक्नुपर्ने योजनाको काम चैत मसान्तभित्रै सम्पन्न गरेको नयाँ सहर आयोजनाका  इञ्जिनीयर शान्ति शर्माले जानकारी दिए ।