प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै ४५ मिनेट भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता भएको हो ।
थाइल्याण्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा उनीहरुबीच करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले मोदीसँगको संवाद राम्रो भएको जानकारी दिए । उनले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।”
प्रधानमन्त्री ओली बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन गत मंगलबार थाइल्याण्ड प्रस्थान गरेका थिए । बिम्स्टेकको छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै आज सम्पन्न भएको छ ।