Ad Image

सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743768774.PNG

भोजपुर । भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो ।

 

विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले बताए। मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको समेत उनले जानकारी दिए ।  

 

उनले भने, “मेरो बुवाले पनि यही विद्यालयमा पढ्नु भएको हो । स्वार्गीय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाइ (रोशन श्रेष्ठ, क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीलाई पोसाक वितरण गरेका हौं”, श्रेष्ठले भने ।

 

एकरुपतासँगै पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताए । विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले पोसाक वितरणले विद्यार्थीमा एकरुपता र पठनपाठनमा सहजता थप्ने विश्वास व्यक्त गरे । निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएका र कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई समेत यसले लाभ पुगेको उनको भनाइ छ ।