वैदेशिक रोजगारबाट सीप र पुँजी लिएर फर्केकाहरु मुलुकको सम्पत्ति हुन्: मन्त्री भण्डारी


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट सिप र पुँजी लिएर फर्केकाहरु मुलुकको सम्पत्ति भएको बताएका छन् । मन्त्री भन्डारीले शुक्रबार ललितपुरमा आयोजित दक्षिण एशियाली एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप महासंघको १४ ओैँ अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘तपाईंहरु जापान गएर सिक्नु भएको सीप र अनुभव नेपाली कामदारका लागि सिकाइको कोशेढुङा सावित हुनेछ । हामी तपाईंहरुसँग सहकार्य गरेर दक्ष जनशक्ति बनाउन हातेमालो गर्न तयार छौं ।’
मन्त्री भण्डारीले विश्व श्रम बजारका लागि दक्ष तालिम प्राप्त जनशक्ति अपरिहार्य भएको बताएका छन । उनले विश्व बजारमा दक्ष जनशक्तिको खाँचो रहेको जिकिर गर्दै त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका तालिम केन्द्रहरु सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
उनले अगामी वर्ष दक्षशक्ति निर्माणका लागि नेपाल सरकारले विशेष पहल गरिरहेको जानकारी दिँदै त्यसको लागि वैदेशिक रोजगारबाट सिकेको अनुभवहरु महत्त्वपूर्ण हुने बताए ।