Ad Image

तीनकुने घटनामा प्रहरी दमनबारे मौन रहँदै आयोगले भन्यो– अनुसन्धानमा सहयोग गर्नु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743770472.jpeg

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । काठमाडौंको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो ।

 

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ ।

 

उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

 

घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानवीय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए । आयोगमा उक्त घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ । तीनकुने घटनाको एक हप्तापछि मुख खोलेको आयोगले आन्दोलनमा भएको प्रहरी दमनका विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।