Ad Image

भारतसँगको सानातिना समस्या आपसमा संवाद गरेर टुङ्ग्याउने गहिरो समझदारी भएको छ: प्रधानमन्त्री ओली

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743847032.PNG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताए । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिएका हुन् । 

 

“छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “यो भेटघाट फलदायी भयो र म खुसी छु, मोदीजीको कुराकानीबाट उहाँ पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।”

 

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिए । उनले भने, “भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।”

 

प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताए । “मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।”