रास्वपाको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ शुभारम्भ


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुई महिने जनयात्रा कार्यक्रम शुभारम्भ गरेको छ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आयोजित कार्यक्रममार्फत रास्वपाले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ शुभारम्भ गरेको हो ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई राष्ट्रिय स्वतन्त्र पार्टी देश निर्माणको यात्रामा अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको र यही यात्राको अर्को श्रृङ्खला जनयात्रा भएको रास्वपाको दाबी छ ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए ।
सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्न सकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गरे ।