पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ


कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन्।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शनिबार उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताएका हुन्।
उनले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाए । “यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ”, सञ्चारमन्त्री गुरुङले भने ।
पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “पोखरा जस्तो सुन्दर ठाउँमा अन्तरराष्ट्रियस्तरका रङ्गशाला बनाउनु पर्दछ । कूटनीतिक कारणले खेल पूर्वाधार महत्वपूर्ण छ । केही देशका लागि पोखरा सन्तुलित स्थान समेत बन्न सक्छ ।”
उनले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब, प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।