Ad Image

खाद्यान्न अभाव हुन नदिन भोटखोला गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743959289.jpg

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयबीच सम्झौता भएको छ । 

 

खाद्य सङ्कटग्रस्त क्षेत्र विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरण गणुस्तरीय खाद्यान्नलगायतका अत्यावश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज रुपमा आपूर्तिका लागि गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता भएको हो । भोटखेला क्षेत्रमा आलु र कोदो, फापर मात्र उत्पादन हुँदै आएको छ । उक्त खाद्यान्नले ६ महिना मात्र खान पुग्ने स्थानीयको भनाइ छ ।

 

भोटखोलामा खाद्यान्न अभाव हुन नदिन तीनबँुदे सम्झौता भएको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । दुर्गम क्षेत्रका जनतालाई सहज, सुलभ र नियमित रुपमा खाद्यान्न उपलब्ध गराउन खाद्यको बिक्री तथा खरिदकक्ष स्थापना, खाद्यान्नको सङ्कलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथ बजारीकरण प्रभावकारी बनाउन, स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । 

 

गाउँपालिका अध्यक्ष भोटेका अनुसार प्रथम पक्षले खाद्यान्न ढुवानी र दैनिक बिक्री व्यवस्थापन मिलाउने, जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालन गर्ने, स्थानीय तहले सङ्कलन गरेका रैथाने बालीको खरिद बजारीकरण गर्ने र नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यन्न नियमित आपूर्ति सुनिश्चित गर्ने उल्लेख छ । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमाथि निर्भर रहँदै आएका छन् ।