वडाध्यक्षलाई कार्यवाहक दिएपछि ग्रामथान गाउँपालिकाका अध्यक्ष फेरि विवादमा


काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी फेरि विवादमा मुछिएका छन् । मंगलबारबाट ९ दिनका लागि चीन भ्रमणमा जाने भएपछि माझीले उपाध्यक्ष गुणवतीदेखि थारु पालिकामा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि विवादमा तानिएका हुन् ।
सोमबार माझीले वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । उपाध्यक्ष थारुले आफूसँग समन्वय नगरेको र सम्पर्कमा नरहेको भन्दै माझीले वडा अध्यक्ष भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । भगत माओवादीबाट निर्वाचित भएका हुन । माझी पनि माओवादीबाट निर्वाचित भएका हुन् ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान छ । वडाध्यक्षलाई जिम्मेवारी दिएपछि उपाध्यक्ष थारु भने अदालत जाने तयारीमा रहेको बताइएको छ ।
माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् । यस अघि उनी अवैध खोला उत्खनन गरेको विषयमा रोक्न पत्र पठाएका प्रमुख प्रशासकियलाई स्पष्टीकरण सोधेर विवादमा तानिएका थिए । यसअघि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूलाई शुभयात्रा पनि नभनेको भन्दै उपमेयरलाई छाडेर वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।