Ad Image

खेलाडी अक्षयकोषमा ३१ लाख बढी सङ्कलन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744179832.jpeg

कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म रु. ३१ लाख ५४ हजार २५६ सङ्कलन भएको छ ।


मञ्चले पोखरा म्याराथनको प्रवर्द्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरुआत भएको हो ।


अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवङ्गत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।


उनका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा रु. दुई करोडको पुर्‍याउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भने, “यो अक्षयकोष केवल रकम सङ्कलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरु गरेको साप्ताहिक र मासिक दौड र पोखरा अन्तरराष्ट्रिय म्याराथनका लागि हो ।”


यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनमा रु. १२ लाख २९ हजार ५११ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी रु. ९३ लाख ७० हजार ६८९ तथा खर्च रु. ८१ लाख ४१ हजार १७७ भएको जानकारी दिए ।


पोखरा अन्तरराष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीनपटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।


यसैगरी २०औँ सस्कणको पोखरा अन्तरराष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने मञ्चले जानकारी दिएको छ ।  मञ्चले २०औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ ।