Ad Image

हुरीले बिजुलीका तीनवटा पोल ढल्दा बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744271468.jpg

नेपालगन्ज । गएराति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारणलाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।


राति १० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।


उनले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने बताए । मुख्य प्रसारणलाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने उनको भनाइ छ ।


“सबै ठाउँको विवरण संकलन भइरहेको छ । यसका लागि अझै केही समय लाग्छ”, उनले भने ।


खराब मौसमका कारण ३३ केभी प्रसारणलाइनका ‘टावर’मा असर परेकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताए ।


उनले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिए ।


नेपालगन्ज–२२ नहरपुरवामा समेत हुरीबतासले विद्युतको पोल बांगो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।


हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।