५ करोड घुस ‘अफर’ को भिडियो सार्वजनिक भएपछि बालेनले राखेको सीसीटीभी हटाइयाे


काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र वडाअध्यक्षहरु, कर्मचारीबीचको सम्बन्ध राम्राे हुन सकिरहेको छैन ।
चैत २१ गते अधिकांश वडाअध्यक्षहरु, कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराए । त्यतिबेला महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र प्रवेशमा रोक्न खोजेको भन्दै कर्मचारी र वडा अध्यक्षहरु आक्रोशित बने ।
कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृत मातहत हुने महानगर प्रहरी बलले मेयर शाहको निर्देशनमा गुरागाईंलाई भित्र प्रवेश गर्न नदिएपछि समस्या देखियो ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको चाबी नभएपछि ढोका तोडफोड गरेर उनलाई कार्यालयमा प्रवेश गराइएको थियो । जसविरुद्ध बालेनका स्वकीय सचिव भूपदेव शाहले सञ्चारमाध्यममा कार्बाहीको चेतावनी दिएका थिए ।
बालेनको सचिवालयले निर्वाचित जनप्रतिनिधिलाई धम्की दिने र कर्मचारीलाई अनावश्यक लाञ्छाना लगाएको भन्दै ५ वटा स्थानीय तह कर्मचारी संगठनहरुले महानगरमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।उनीहरुले प्रहरी प्रमुख पाण्डे र बालेनका स्वकीय सचिवमाथि कारबाहीको मागसमेत अघि सारेका छन् ।
सीसीटीभी हटाइयाे, नियमन र नियन्त्रणका लागि कार्यविधि बनाउने तयारी
उक्त प्रकरणपछि सामाजिक सञ्जालहरुमा एउटा भिडियो भाइरल बन्यो । वडाअध्यक्षहरुको छलफलको भिडियोमा काठमाडौं टावर निर्माणका लागि ५/५ करोड घुस अफर गरिएको संवाद सुन्न सकिन्थ्यो ।
बालेन कर्मचारीहरुप्रति असहिष्णु भएको आरोप लागिरहँदा उक्त सीसीटीभी क्लिप काटेर उनको सचिवालयले भ्रम छर्न खोजेको आरोप वडाअध्यक्षहरुले लगाएका छन् ।
यो घटनापछि महानगरको कार्यालयमा राखिएका सीसीटीभीलाई हटाउन थालिएको छ भने सीसीटीभीको नियमन र नियन्त्रणका लागि पनि कार्यविधि बनाउने तयारी थालिएको छ ।
सीसीटीभी माथिको नियन्त्रण अहिले बालेन र उनको टीममा रहेको जनाइएको छ । अडियोसहित रेकर्ड हुने उक्त सीसीटीभी फुटेजमा छेडखानी गरि अर्थ लाग्ने क्लिपमात्र बाहिर ल्याइएको भन्दै वडाअध्यक्ष र कर्मचारीहरुले आपत्ति जनाएपछि अहिले केही स्थानको सीसीटीभी निकालिएको छ ।
महानगरको सुशासन समितिका प्रमुख खेमराज तिवारीले सीसीटीभी राख्ने वा हटाउने भन्ने क्षेत्राधिकार कार्यकारी अधिकृतको क्षेत्राधिकार भएको बताए ।
‘सीसीटीभी राख्ने वा हटाउने भन्ने कार्यकारी अधिकृतको क्षेत्राधिकारको कुरा हो,’ उनले भने, ‘दुईरतीन ठाउँको सीसीटीभी हिजोतिर झिकिएको मैले पनि सुनेको छु ।’ कार्यकारी प्रमुख, बैठक कक्ष लगायत २/३ ठाउँको सीसीटीभी निकालिएको छ ।
तिवारीले सीसीटीभी कहाँकहाँ राख्ने, कसले त्यसलाई सञ्चालन गर्ने लगायतको विषय तय गर्न कार्यविधि बनाउने तयारी भइरहेको र त्यसका लागि वैशाखको पहिलो साता सूचना प्रविधि र सुशासन समितिको संयुक्त बैठक बस्ने तयारी भइरहेको बताए ।
‘सीसी क्यामेरा कसले हेर्न पाउने, कहाँ कहाँ राख्नु पर्ने हो त्यसको कार्यविधि बनाउनु पर्ने छ,’ उनले भने, ‘मेयरको बैठकको सीसीटीभी लिक हुन्छ भने त ठिक भएन, त्यसलाई सार्वजनिक गर्ने को हो, गर्नेमाथि के हुन्छ भन्ने त चाहियो नि, होइन ?’
सीसीटीभी जसले पायो त्यसले निकाल्ने र प्रशारण गर्न पाउन नहुनेमा वडाअध्यक्षहरु र कर्मचारीको एक स्वर छ ।