Ad Image

वीरगञ्ज महानगरले सार्वजनिक गर्यो नयाँ शैक्षिक क्यालेन्डर, २३३ दिन विद्यालय खुल्ने

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1744368891.jpg

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत दुवै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।


 

महानगर प्रमुख राजेशमान सिंहले शुक्रबार एक कार्यक्रमकाबीच शैक्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डर अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा २३३ दिन विद्यालय खुल्नेछ । वैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु भई सोही दिनबाट ८ दिनसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन हुनेछ ।


 

यस्तै गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन लगायतका कार्यतालिका क्यालेन्डरमा समेटिएको छ । त्यसैगरी जाडो विदा, अन्तिम मूल्याङ्कन, चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठा व्यवस्थापन लगायतको तयारीका विषयलाई समेत क्यालेन्डरमा समेटिएको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए।


 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले क्यालेन्डर अनुरुप शैक्षिक गतिविधि सञ्चालन गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्याब्सन, एन–प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका सञ्चालकहरुको सहभागिता रहेको थियो ।