Ad Image

बागमती प्रदेशले विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744374046.PNG

हेटौंडा । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताएका छन्।

 

यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै सेवाग्राहीले बैंकमा लाइन बसेर दस्तुर एवं कर दाखिला गरिसकेपछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानुनी सुधारका काम भइरहेको जानकारी दिए ।

 

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ निर्माण गरिसकेकाले यथाशीघ्र भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने उनले जानकारी दिए । मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेबसाइटबाट आफ्नो सवारीको विवरण आफूले अद्यावधिक गरी बिलबुक नवीकरणसहित सवारी कर तिर्न सकिनेछ ।

 

प्रदेश सरकारले नागरिक एपमार्फत सवारी चालक अनुमतिपत्र देखिने व्यवस्था गरिसकेकाले बताउँदै त्यसको पूर्णरूपमा कार्यान्वयन भइरहेको उनले जानकारी दिए । मन्त्री महर्जनले सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेमा सोही एपको सवारीचलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सूचना प्रणालीअन्तर्गतको क्यूआरबाट ट्राफिक प्रहरीले जरिवाना गर्नेगरी व्यवस्था मिलाइएको बताए ।

 

 

आगामी दिनमा बागमती प्रदेश सरकारले सवारीचलक अनुमतिपत्रसम्बन्धी आवेदनसहित अन्य सेवा राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको बताउँदै मन्त्री महर्जनले यससम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।