अब एसईई नहुने, कक्षा १० को परीक्षा विद्यालयस्तरमै गर्न सहमति

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने सहमति जुटेको छ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा भएको छलफलमा एसईई नगर्ने सहमति जुटेको हो ।
विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने र कक्षा १० को परीक्षा विद्यालयस्तरमै गर्न समेत सहमति जुटेको स्रोतले जनाएको छ । आधारभूत तह अर्थात कक्षा ८ सम्मको स्थानीय तहले र माध्यमिक तहको परीक्षा परीक्षा बोर्डले लिने समेत सहमति भएको बताइएको छ । त्यसैगरी छलफलमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग समेत नराख्ने सहमति भएको छ ।
विधेयकमाथि उपसमितिमा निरन्तर छलफल भइरहेको छ । उपसमितिमा सहमति भएका विषय सार्वजनिक भने गरिएको छैन ।