मानवकल्याण धाम निर्माणार्थ महायज्ञमा ८० लाख संकलन


भक्तपुर । चाँगुनारायण नगरपालिका–३ झौखेलेको एक टहरामा सञ्चालन भइरहेको मानवकल्याण समाजको भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ८० लाख भन्दाबढी रकम संकलन भएको छ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा मानवकल्याण समाजले आयोजना गरेको महायज्ञमा ८० लाख ४३ हजार ७१६ संकलन भएको हो ।
मानवकल्याण समाजले चैत २१ गते सुरु गरी २७ गते सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ मा भएको रु २५ लाख १८ हजार ७५५ खर्च कटाएर कूल ५५ लाख २५ हजार १६ बचत गरेको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रञ्जितले जानकारी दिए। संकलित रकमलाई जग्गाको व्यवस्थापन नभएसम्मका लागि समितिले बैंकमा बचत खातामा जम्मा गर्ने र जग्गाको व्यवस्था भएलगत्तै भवन निर्माण सुरु गरिने उनले जानकारी दिए ।
महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले महायज्ञमा दाताहरुको भौतिक उपस्थितमा नगद, बैंक ट्रान्सफर र क्युआरमार्फत दान प्राप्त भएको बताए । महायज्ञबाट सङ्कलित रकम मानवकल्याण समाजको भवन निर्माणमा खर्च गरिने जानकारी दिँदै उनले भवन निर्माणमा पनि बाँकी रहेको रकम अक्षयकोष निर्माण गरी राखिने बताए ।
भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरेलगत्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले भवन निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाले सहज हुने विश्वास रहेको उनले बताए ।