वीरगञ्जको अवस्था सामान्य बन्दै, कर्फ्युबारे निर्णय गर्न सर्वदलीय बैठक बोलाइयो


वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्जको तनाव व्यवस्थापन गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा जिल्लामा उपलब्ध दलका नेताहरू सहभागी हुने छन् । बैठकले कर्फ्यु मध्याह्न १२ बजेपछि हटाउने वा थप्नेबारे निर्णय गर्नेछ । साथै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षा समितिको बैठक पनि डाकेका छन् । अहिले अवस्था सामान्य रहेको छ ।
बजार क्षेत्रमा पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ । कर्फ्यु आदेश भएका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सयुक्त रुपमा सडकमा गस्ती गरिरहेका छन् ।
वीरगञ्जको छपकैयामा दुई समुदायबीच भएको झडपका कारण स्थानीय प्रशासनले शनिबार बेलुकादेखि कर्फ्यु लगाएको छ । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरियो ।
शनिबार हनुमान् जन्मोत्सवका अवसरमा दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए। उनले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ जना घाइते भएको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए । “शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ”, उनले भने, “कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नुभएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।”
प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए । “अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ”, उनले भने । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए । “एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ”, उनले भने, “अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।”