सिरहामा एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा


सिरहा । नेकपा एमालेबाट निर्वाचित सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता संजीव लामाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारीसहित एमाले पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन् ।
फेसबुकमा लामाले पद त्याग गर्नुको कारण भने खुलाइएको छैन । शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा पार्टीका मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठको कार्यशैलीप्रति उनको असन्तुष्टि रहेको बुझिएको छ ।
जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीमा हैकमवादी प्रवृत्ति चलाएको र पार्टीको विधान विपरीत कनिष्ठहरुलाइ जिल्ला सदस्यमा समावेश गरेको लामाले बताएका छन् । सिरहामा एमाले पार्टी भित्र नातावाद हावी भएकाले आफूले राजीनामा दिएको उनले बताए ।