Ad Image

शिवनाथ गाउँपालिले कोदो खेतीका लागि किसानलाई ४ लाख अनुदान दिँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744537568.jpg

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिकाले कोदो खेतीलाई प्रवर्द्धन गर्न कृषकहरूलाई ४ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

 

गाउँपालिकाका अनुसार कोदो खेती गर्न इच्छुक कृषकले कम्तीमा दुई रोपनी क्षेत्रफलमा खेती गर्नुपर्नेछ । प्रतिरोपनी ७ सय रुपैयाँका दरले अनुदान प्रदान गरिनेछ ।

 

गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार पछिल्लो समय कोदो खेतीको प्रचलन घट्दै गएकोले त्यसलाई पुनः प्रोत्साहित गर्न अनुदान कार्यक्रम ल्याइएको हो ।

 

प्रदेश सरकारले दिएको बजेटमार्फत सञ्चालन गर्न लागिएको यो कार्यक्रममा यसअघि पनि गाउँपालिकाले गर्भवती महिलालाई कोसेलीका रुपमा कोदोको पिठो वितरण गर्ने निर्णय गरिसकेको छ ।

 

अध्यक्ष साउदका अनुसार कोदो खेतीलाई संरक्षण तथा प्रवर्द्धन गर्न विद्यालयस्तरमा पनि पहल थालिएको छ ।  गाउँपालिकाभित्रका विद्यालयहरूमा दिइने दिवा खाजामा कोदोका परिकार समावेश गरिने निर्णय गरिएको छ ।

 

त्यसैगरी, गाउँपालिकाले रैथाने बालीसँगै व्यावसायिक मौरीपालनलाई समेत प्रोत्साहन गर्दै सीप विकास तालिम र प्राविधिक सहयोग प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । मौरीपालनतर्फ स्थानीयलाई आकर्षित गर्न यी कार्यक्रमहरु थालिएको अध्यक्ष साउदले बताएका छन् ।