मुस्ताङका पाँचैवटा पालिकाद्वारा धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान सुरु


मुस्ताङ । समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्लाका पाँचै वटा गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको समन्वयमा आजदेखि चार दिने मुस्ताङ जिल्ला सरसफाइ तथा जनचेतनामूलक अभियान (नेपाल—चीन) उत्तरी कोरलानाकाबाट विधिवत् शुभारम्भ गरिएको हो ।
विश्वव्यापी रुपमा बढ्दै गइरहेको कार्वन उत्र्सजनका कारण वातावराणीय क्षेत्र तथा तथा हिमाली जिल्ला मुस्ताङमा कृषि, पर्यटन, जैविक विविधता, धर्मसंस्कृति र यहाँको मौलिकतामा प्रतिकूल असर पुगेको उल्लेख गर्दै मुस्ताङका पाँचैँवटा पालिकाले प्रदूषण घटाउन सामूहिक एक्येबद्धता जनाएका हुन् ।
मुस्ताङमा राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै बर्सेनि पर्यटक सङ्ख्या वृद्धि भइरहेको अवस्थामा नागरिक तथा पर्यटकबाट हुने जथाभावी फोहर मिल्काउने परिपाटीले मुस्ताङ जिल्लाको सौन्दर्यतामा असर पुगेको र यसले वातावणीय सन्तुलनमा क्षति पुग्दै जान थालेप्रति चिन्ता व्यक्त गर्दै मुस्ताङका जनप्रतिनिधि र कर्मचारीलगायत वातावरणसँग सम्वद्ध संस्थाहरुले यसप्रकारको मुस्ताङ जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बृहत्त सरसफाइ अभियान थालेका हुन् ।
अभियानको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङसहित मुस्ताङका पाँचवटै गाउँपालिकाका अध्यक्षहरुले सामूहिक रुपमा मुस्ताङ जिल्ला सरसफाइ तथा जनचेतनामूलक अभियान कार्यक्रम शुभारम्भ भएको कोरलानाकाको दशगजा क्षेत्रको २४ नं सीमास्तम्भबाट घोषणा गरेकी थिइन् ।
अभियान घोषणा कार्यक्रममा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले विश्वकै चिन्ताको विषय बनेको जलवायु सङ्कट असर मुस्ताङ जिल्लालेसमेत व्यवहोर्नु परेको बताए । अनुकूल समयमा हिमपात नहुन, वर्षा हुनु, चिसो भूगोलको क्षेत्रमा मौसमी तापमान वृद्धि हुनु, कृषि र जैविक विविधतामा क्षति बढ्दै जाने प्रभाव देखिन थालेको अध्यक्ष विष्टको भनाइ छ ।
उनले मुस्ताङले मात्रै जलवायु क्षति न्यूनीकरण गर्न सम्भव नभए पनि यहाँका वातावरणीय सौन्दर्यतालाई जोगाउन सामूहिक सरसफाइ तथा जनचेतनामूलक अभियानको थालनी गरिएको बताए । अध्यक्ष विष्टले भने, “यसकालाई हामीले यसप्रकारको अभियानमार्फत विश्व समुदायमाझ मुस्ताङको सन्देश प्रवाह गर्न खोजेका हौँ, यसले मुस्ताङका स्थानीयहरू रचनात्मक र सिर्जनात्मक कार्यमा एकजुट हुन सक्छन् भन्ने यो नै गतिलो सन्देश हो ।”
मुस्ताङको नेपाल–चीन कोरलानाकाबाट शुभारम्भ भएको बृहत् सरसफाइ तथा जनेचनामूलक अभियान मुस्ताङको पाँचवटै स्थानीय तहमा हुने बताइएको छ । अभियानको अन्तिम तथा चौथो दिन म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिकाको घाँसामा पुगेर समापन हुने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए ।
उनका अनुसार अभियानको पहिलो दिन लोमान्थाङअन्तर्गत कोरलानाकाबाट शुभारम्भ भएको र पहिलो दिन लोमान्थाङको न्हेचुङ भन्सार कार्यालय अगाडिको सडकमार्ग, झोङ गुफा, छोसेर, ठिङ्गर र लोमान्थाङमा बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
अभियानको पहिलो दिन लोमान्थाङपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको लोघेकर गुम्बा, चराङ गाउँ र लुरी गुम्बालगायत स्थानमा बृहत् सरसफाइ तथा जनचेतनामूलक अभियान सकिएको उनको भनाइ छ । अभियानका क्रममा घरपझोङका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा पर्यटकको सङ्ख्या बढेको र चीनबाट आयात हुने सामग्री किनमेलले कोरलानाकामा फोहर बढेको र त्यसको व्यवस्थापन हुन नसकेको औँल्याए ।
अध्यक्ष लालचनले भने, “यसका कारण कोरलानाकामा बसेका व्यापारीलाई फोहर व्यवस्थापनका बारेमा सुसूचित गराउने कार्य भएको छ, यो अभियान सबै पालिकामा पुगेर नागरिक, व्यवसायी र पर्यटकलाई फोहर व्यवस्थापनबारे सचेत गराउने हाम्रो ध्येय हो ।”
अध्यक्ष विष्टले मुस्ताङमा ७२ राष्ट्रकाभन्दा बढी विदेशी नागरिक घुम्न र धार्मिक कार्यमा आउने भएकाले विश्वव्यापी सन्देश प्रवाह गर्ने प्रमुख लक्ष्य भएको अध्यक्ष लालचनको कथन छ । कोरलानाकाबाट शुभारम्भ भएको फाहरमैला सरसफाइ तथा जनचेतनामूलक अभियान अन्तरगत क्रमशः वारागुङ मुक्तिक्षेत्रको छुसाङ, कागबेनी र मुक्तिनाथमा गरिने तय गरिएको छ ।
यसैगरी मुस्ताङको घरपझोङअन्तर्गत ढुम्बाताल, जोमसोम र मार्फा लगायतका स्थानमा सरसफाइ तथा जनचेतना हुने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बू गुरुङले जानकारी दिए । अभियान अन्तरगत थासाङ गाउँपालिकाको सेकुङ ताल र टिटी तालको बृहत्त सरसफाइ तथा जनेचना फैलाउँदै मुस्ताङको घाँसामा पुगेर समापन हुने थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनको भनाइ छ ।
मुस्ताङका पाँच पालिकाले उपल्लो मुस्ताङको कोरलानाकादेखि तलको क्षेत्रमा सङ्कलन भएका अजैपविक फोहरमैलालाई यथोचित स्थानमा सङ्कलन गरी पालिकाहरूकै खर्चमा जोमसोम ढुवानी गरी पोखराको प्रशोधन केन्द्रसम्म पठाउने निर्णय गरेका छन् ।
अव्यवस्थित नकुहिने अजैविक फोहरलाई सङ्कलन गरी मोहोरमा परिणतगरी प्राकृतिक सौन्दर्यताले भरिएको मुस्ताङ जिल्लालाई फोहरमुक्त जिल्लाको रूपमा विकास गर्न अभियान शुभारम्भ भएको जनाएका छन् । अभियानमा लागेको आर्थिक खर्च मुस्ताङका पाँचै स्थानीय तहले व्यहोर्ने गरी अभियानको पहिलो अभ्यास गरेका हुन् ।