सैलुनमा एसी र इन्भर्टर दिने विवाद: मेयर लामा भन्छिन्-कलकलाउँदा युवालाई प्रोत्साहन गरेका हौं !


हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले एक सैलुनलाई एसी र इन्भर्टर दिने विषय सामाजिक सञ्जालमा आज दिनभर चर्चामा रह्याे । वैशाख ३ गते बुधबार सुसन घलान सञ्चालक भएको Barber-The Nineteen Sailon ले उपमहानगरपालिकामा एसी र इन्भर्टर जडानका लागि माग गरेको निवेदनमा मेयरले तोक लगाएको विषय विवादित बन्न पुगेको हो ।
पत्रमा सैलुन उद्घाटनका क्रममा मेयर मीनाकुमारी लामाले सैलुनका लागि एसी र इन्भर्टर जडान गर्ने प्रतिबद्धता गरेअनुसार उक्त सामाग्री उपलब्ध गराउन अनुरोध गरिएको छ । पत्रमा भनिएको छ, ‘हाल गर्मीयाम अत्यधिक बढेकाले र हाम्रो सैलुनमा ग्राहकको भीड बढिरहेकाले आरामदायक सेवा दिन अत्यावश्यक रूपमा एक थान एसीको आवश्यकता परेको छ। साथै, हालसालै हेटौँडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउँछ। ग्राहकको सेवा गुणस्तरीय बनाउन इन्भर्टरको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण भएको छ। अतः हाम्रो सैलुनमा एसी तथा इन्भर्टर जडानका लागि तपाईंको सहयोग र समर्थनको अपेक्षा गर्दै यो निवेदन पेस गरेका छौँ।’
उक्त निवेदनमा माग भएको सामाग्रीको लागत अनुमान तयार गरेर उपलब्ध गराउन प्रमुख लामाले तोक आदेश दिएको देखिन्छ । यस विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कतिपयले मजाक बनाएका छन् भने कतिपयले विरोध जनाएका छन् । उपमहानगरले निजी व्यवसायलाई एसी र इन्भर्टर जस्तो विलाशी वस्तु प्रदान गर्नु उचित नभएको भन्दै आलोचना समेत भइरहेको छ । कतिले उपमहानगरले सुशासन विपरीत काम गरेको तर्क समेत गरेका छन् ।
के हो वास्तविकता ?
हेटौंडा उपमहानगरपालिका–४ शीतलमहलमा गत चैत अन्तिम साता एउटा सैलुन सञ्चालनमा आयो । नौ जना १९,२० वर्षका युवायुवतीले सञ्चालनमा ल्याएको सैलुनको उद्घाटन मेयर लामाले गरिन् । सामाजिक सञ्जालमा भेटिएको भिडियो सामाग्रीमा उद्घाटनपश्चात प्रमुख लामाले सैलुनमा कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्नेलगायतका सेवा समेत लिएको देखिन्छ । प्रमुख लामाले समेत आफूले उद्घाटनपश्चात सञ्चालकहरुको आग्रहमा सेवा लिएको स्वीकार गरेकी छिन् । ‘भर्खरका युवायुवतीले सैलुन खोलेको देखेर म यसै खुसी थिएँ । उनीहरुलाई प्रोत्साहन होस् भनेर मैले सेवा पनि लिएँ', उनले भनिन्, 'तर सेवा लिएपछि उनीहरुले मागेको भन्दा बढी नै रकम समेत मैले तिरेर आएकी हुँ ।’
सेवा लिने क्रममा सैलुन सञ्चालकहरुले सैलुनमा गर्मी धेरै हुने र फ्यान राख्दा कपाल काट्ने लगायतका काममा समस्या हुने बताएका थिए । उनीहरुको समस्या सुनेपछि मेयर लामाले एसी उपलब्ध गराउन पहल गर्ने भन्दै उपमहानगरमा निवेदन दिन भनेकी थिइन् । त्यसपछि उनीहरुले वैशाख ३ गते बुधबार एसी र इन्भर्टरको माग गरेर उपमहानगरमा निवेदन दिए । निवेदनमा प्रमुख लामाले तोक आदेश दिइन् । उक्त तोक आदेश दिएको पत्र सहितको भिडियो सैलुन सञ्चालकहरुले सामाजिक सञ्जालमा राखेपछि यो विषय चर्चामा आयो ।
के भन्छिन् प्रमुख लामा ?
यस विषयमा हेटौंडा उपमहानगरकी प्रमुख लामाले उपमहागरभित्रका युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रोत्साहन स्वरुप गरेको कामलाई विवादित बनाउनुको अर्थ नभएको बताइन् । मेयरसाप डटकमसँगको कुराकानीमा उनले विगतमा पनि युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गरिरहेको बताइन् । उनले उद्यमी बन्न चाहने युवाहरूलाई आगामी दिनमा पनि उपमहानगरले सहयोग जारी राख्ने बताइन् ।
‘हामीले विवादित हुनुपर्ने कुनै गल्ती गरेका छैनौं । अहिले युवाहरुमा विदेश मोह छ, यहीँ भएका किशोरकिशोरी पनि लागूऔषध दूर्व्यसनीमा फसिरहेका छन् । यो अवस्थामा हामीले यी कलकलाउँदा युवाले सुरु गरेको उद्यमलाई प्रोत्साहन गर्ने प्रयास गरेका छौं।’, प्रमुख लामाले भनिन्, ‘मलाई सही लागेका विषयमा मैले तोक लगाउने हो । अब कार्यविधिसँग मेल खायो भने नीतिगत रुपमा हामी उक्त सामाग्री उनीहरुलाई उपलब्ध पनि गराउँछौं।’
मेयर लामाले उपमहानगरपालिकाबाट यसअघि पनि सिलाईबुनाई सिकेका महिलाहरुलाई सिलाई मेसिन, किसानहरुलाई कृषि औजार, अन्य विभिन्न व्यवसायका लागि अनुदान रकम प्रदान गर्दै आएको जानकारी समेत गराएकी छिन् ।