प्रधानमन्त्री ओली आज चितवन जाँदै, ६ लेन सडकको उद्घाटन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन भरतपुर जान लागेका हुन् । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि प्रधानमन्त्रीसँगै जाने भएका छन् ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनमा चितवन जान लागेका हुन् । ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।