पुलचोक– गोन्द्राङ सडक समयमा सक्न भरतपुर महानगरको ठूलो योगदान छ: मेयर रेनु


चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन्। पुलचोक–गोन्द्राङ ६ लेन सडकको उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी हुन्।
‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’
भरतपुर महानगरमा नवनिर्मित पुलचोक–गोन्द्राङ सडकको आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री हुदाँ ओलीले २०७७ माघ १७ मा यो सडकको शिलन्यास गरेका थिए । १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ ।