मोरङको सुन्दरहरैँचा नगरपालिकामा निर्माण हुन लागेको पञ्चायत मावि भवनको शिलान्यास


मोरङ । भारत सरकारको सहयोगमा निर्माण हुने मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईं र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरू २.८१ करोड परियोजना लागतमा विद्यालय भवन निर्माण भइरहेको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदैछ ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ । श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । यस विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६० प्रतिशत छात्राहरू रहेका छन् ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।कार्यक्रममा मन्त्री राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे ।
उनीहरूले निर्माण हुने पूर्वाधारले मोरङको श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । यसले सिकाइको लागि उपयुक्त वातावरण सिर्जना गर्न र यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन पनि मद्दत गर्ने विश्वास गरिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ । ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यीमध्ये ९१ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् जसमा मोरङमा १६ वटा परियोजनाहरू छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस प्रदान गरेको दूतावासले जनाएको छ ।