संक्रमणकालीन न्यायलाई टुंग्याउन ओली, देउवा र प्रचण्डबीच छलफल


काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा अोली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, एमाले नेता अग्नि खरेल लगायत उपस्थित छन्।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रमुख नेताहरु बैठकमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न नसकेको अवस्थामा तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।
यसअघि गत चैत ११ गते तीनै शीर्ष नेतासहित संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पुनः समिति बनाउने सहमति जुटेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन पनि गरिएको थियो । तर उक्त समितिले पदाधिकारी सिफारिस गर्न सकेको थिएन ।